पोखरा , १८ फागुन २०८२।
मतदातालाई बाँड्न भनेर लैजाँदै गरेको रक्सी र चामलसहित सल्यानबाट दुई जना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।
रास्वपाको झन्डा राखेर मतदातालाई बाँड्न भनेर लैजाँदै गरेको ठानिएको मदिरा र चामल बोकेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट प्रहरीले पक्राउ गरेको हो।
सल्लीबजारबाट सामान लिएर खैरागाउंतर्फ जाँदै गरेको उक्त जिपलाई सल्लीबजारमा चेकजांच गर्दा जिपबाट २५ केजीका दुई बोरा चामल, सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद भए पछि चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
जिपमा निर्वाचनलक्षित चामल, खानेतेल र मदिराका कार्टुन लिएर गएको आशंकामा चालकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति लोकेन्द्र ओलीले जिपमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरेका छन्। “प्रचारमा हिँडेको गाडीमा व्यापारीले आफ्नो सामान राखेका हुन्, यसलाई निर्वाचनसँग जोड्नु उचित होइन,” उनले भने।
उनका अनुसार गाडी प्रचार प्रयोजनका लागि प्रयोग भइरहेको भए पनि बरामद सामग्री पार्टीको नभई स्थानीयको व्यापारिक सामान हो। पार्टीले घटनाबारे सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।