पोखरा, १६ फागुन २०८२।
जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता शनिबार साँझ पक्राउ परेका छन्।
दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकहरुमा जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री देखाइरहेका रास्वपाका कार्यकर्ता एलइडी सेट जडित भारतीय गाडीसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार , बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। प्रसारण भइरहेको क्रममा गाडीमै बसिरहेका रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको छ।
निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग गरी संवेदनशीलताको ख्याल नगरी चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री प्रसारण गरिरहेकाले उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए।
‘अहिले निर्वाचनको मुखमा प्रसारण गराउनेको उद्देश्य के रहेको बुझ्न सकिएन,’ डीएसपी बमले भने, ‘डकुमेन्ट्री प्रसारणले जनतामा निर्वाचनप्रति वितृष्णा उत्पन्न हुन सक्ने, सद्भाव बिग्रन सक्ने भन्ने गुनासो आइरहेकाले खोजी गर्दा स्टेशन एरियामा फेला परेको हो।’
थप दुई वटा गाडी अझै बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए।