पोखरा, १६ फागुन २०८२।
झापाको बिर्तामोडमा गएराती कार र मोटरसाइकल एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल शुक्रबार राति ०९ः२० बजे बिर्तामोड-४ स्थित निर्माणाधीन नागरिक सामुदायिक अस्पतालअगाडि हर्कलाल मार्गमा एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा घाइते भएका मेचीनगर-१३ चारआलीका २५ वर्षीय विशाल पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कनकाई-६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक बिर्तामोड ६ का २५ वर्षीय चिराग सिन्हालाई नियन्त्रणमा लिएको छ । घटनाकारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।