भतिजी प्रेमीसंग संगै देखेपछि काका र छोरा मिलेर प्रेमीको हत्या : तीनै जना पक्राउ

भतिजी प्रेमीसंग संगै देखेपछि काका र छोरा मिलेर प्रेमीको हत्या : तीनै जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ फाल्गुन २०८२
  • 1.3K
    Shares

पोखरा, १६ फागुन २०८२।

आफ्नो भतिजी प्रेमीसंग संगै बसेको देखेपछि उनका काका र छोरा मिलेर प्रेमीको हत्या गरेको खुलेको छ।

धनुषाको औरही गाउँपालिका ६ चक्करस्थित खेतमा मृत भेटिएका हंसपुर नगरपालिका–९ रुदौलीका १८ वर्षीय सुमित मण्डलको हत्या आरोपमा तीन जना पक्राउ परे पछि उक्त रहस्य खुलेको हो।

सुमित मण्डलको हत्या आरोपमा उनको प्रेमिका हंसपुर–६ की १७ वर्षीया किशोरी काजलकुमारी मण्डल, उनका काका परमेश्वर र भाइ दिपेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुग्म कुँवरले जानकारी दिए।

एसपी कुँवरका अनुसार , घरमा कोही नभएको मौका छोपी प्रेमिका काजललाई भेट्न बुधबार सुमित मोटरसाइकल लिएर काजलको घर पुगेका थिए। सुमित र काजललाई सँगै देखेपछि प्रेमिका काजलका काका र भाइले उनको हात बाँधेर कुटपिट धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका बताइएको छ। त्यसपछि सुमितको शबलाई उनीहरुले धनुषाको औरही गाउँपालिका ६ चक्करस्थित खेतमा लगेर फालेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले भने, ‘बुधबार साँझ ६ बजे सुमित घरमा कोही नभएको बेला सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेट्न गएका थिए। सोही क्रममा काजलको काका आफ्नो पसल बन्द गरी घरमा आउँदा दुवै जनालाई सँगै बसेको देखि सुमितलाई कोठाबाट बाहिर निकाली आफ्नो भतिज दिपेश मण्डललाई बोलाई दुवै जना मिलेर कुटपिट गरी पछाडी हात बाँधि खेतमा लगेर धारिलो हतियार दबियाले घाँटी रेटी हत्या गरेको हो।’

घटना पश्चात मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले अर्कै ठाउँमा लुकाएर राखेका अनुसन्धानमा खुलेको छ। घटनामा प्रयोग भएका हतियार समेत प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको छ। घटनामा संलग्न भएको आशंकामा काजल, उनका काका परमेश्वर र भाइ दिपेशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया