पोखरा, १३ फागुन २०८२।
दुई जनाको ज्यान जाने गरी हेटौडामा मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक बीरगन्जमा बनाउदै गरेको अवस्थामा समातिएको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुई जनाको ज्यान जाने गरी बुधबार बिहान ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर भागेको ट्रक वीरगञ्जमा बनाउदै गरेको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सञ्जित स्याङ्तान र १८ वर्षीय अमोश थिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। उक्त दुर्घटना गराउने ग २ ख ८९८ नम्बरको मालवाहक ट्रक पर्साको वीरगञ्ज महानगरपालिका-१३ स्थित प्रतिमा चोकमा ग्यारेजमा बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर भागेको उक्त ट्रक सीसीटीभी फुटेजमा देखिए पछि प्रहरीले सोधीखोजी गर्दै वीरगञ्जमा बनाउदै गरेको अवस्थामा भेट्टाएको प्रहरीले दाबी गरेको छ । तर चालक भने फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।