पोखरा १६ का मतदातासँग कांग्रेसी उम्मेदवार बाँस्तोलाले जनाए यस्ता प्रतिबद्धता

पोखरा १६ का मतदातासँग कांग्रेसी उम्मेदवार बाँस्तोलाले जनाए यस्ता प्रतिबद्धता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ फाल्गुन २०८२
  • 4.8K
    Shares

पोखरा, १३ फागुन २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १६ का मतदाताले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ उम्मेदवार माधवप्रसाद बास्तोला (मधु)समक्ष सडक, कालीखोला तटबन्द, फोहोर व्यवस्थापन, रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, लगायतका माग राखेका छन् ।

चुनाब प्रचार-प्रसार गर्ने क्रममा मंगलबार पोखरा १६ का मतदाताहरुको घर-घरमा पुगेका कांग्रेसका उम्मेदवार बस्तोलासंग स्थानीय बासिन्दाले त्यस्तो माग राखेका हुन्।

आफ्ना मतदाताहरुको माग सुनेका कांग्रेसी उम्मेदवार माधवप्रसाद बास्तोला (मधु)ले वाटुलेचौरको मैदानमा आयोजित कोणसभामा आफू मतदाताहरुको मागहरुप्रति सकारात्मक रहेको र ती मागहरु पूरा गराउनमा आफू निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कोणसभामा बोल्दै बास्तोलाले महानगरपालिका भित्रको वडा भएपनि पोखरा–१६ को धेरैजसो भाग ग्रामीण क्षेत्रमा पर्ने भएकाले त्यसको विकासका लागि आफूले ध्यान दिने बचन दिए। उनले गुफैगुफाको वडा पोखरा–१६ मा महेन्द्रगुफा, चमेरे गुफा, गोर्खा स्मृति संग्रहालय, अर्मला कोट, हरिपाउँ, कालीलेक यहाँका पर्यटकीय गन्तब्य भएको बताउँदै यसको विकासमा लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए।

रोजगारीका लागि युवा विदेश पलायन हुँदा यहाँका गाउँ रित्तै भएको बताउँदै उम्मेदवार बाँस्तोलाले गाउँमा व्यवसायिक कृषिको विकासका लागि युवालाई अनुदान प्रदान गर्नुपर्नेमा जोड दिए । सरकारले युवा लक्षित रोजगारीका अवसर सृजना गर्ने हो भने उनीहरु रोजगारीका लागि विदेश पलाएन हुनु पर्ने थिएन, गाउँ शून्य पनि हँुदैनथ्यो, उम्मेदवार बास्तोलाले भने–नेपालको युवा जनशक्ति विदेशमा जाँदा नेपालको विकासले गति लिन सक्दैन् ।

व्यवसायिक शिक्षा अहिलेको आवश्यकता हो, उनले भने –पाठ्यक्रम नै परिवर्तन गरी नयाँ शिक्षा ऐन ल्याउनु आवश्यक छ । साथै उनले पोखरा–१६ मा पर्यटकीय सम्भावना धेरै भएकाले त्यसको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

पोखरा–१६ का महेन्द्रगुफा, बाटुलेचौर, मैदान, दिप, लामाचौर, चमेरे गुफा, पानी ट्याँकी, बडरबोट, कुर लगायतका स्थानमा घरदैलो कार्यक्रम गरिएको जानकारी घरदैलोमा सहभागी काँग्रेस नेता सोभियतबहादुर अधिकारीले दिए ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, बिन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, लक्ष्मी पाण्डे, सीता गुरुङ, तीर्थकुमारी गुरुङ लगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया