पोखरा, १३ फागुन २०८२।
धादिङमा सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै परेको चट्याङले लागेर एक जना बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा स्थानीय सम्झना थापा मगरको घरमा मंगलबार अपराह्न करिब चार ४ बजे सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै चट्याङ पर्दा एक बालिकाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार , सत्यनारायणको पूजा भइरहेको बेला अचानक परेको चट्याङले लागेर तीन जना घाइते भएकोमा तत्काल उद्धार गरेर उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र, गोरखा पठाइएको थियो। पचारकै क्रममा गोरखाको शहीद लखन गाउँपालिका–८ निवासी कृष्ण घर्ती मगरकी १४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई साँझ ५ः१४ बजे चिकित्सकले मृत घोषणा गरेका धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले जानकारी दिए।
सोही घटनामा विनिसाकी दिदी करिब १५ वर्षीया दिक्षा घर्ती मगर तथा भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय वीरेन्द्र थापा मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी साँझ ५ः५० बजे इलाका प्रहरी कार्यालय आरुघाटमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सल्यानटार बाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।