बरिष्ठ गायक, संगितकार, उद्घोषक कमल बि.के.’निर्माेही’ को निधन

बरिष्ठ गायक, संगितकार, उद्घोषक कमल बि.के.’निर्माेही’ को निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ फाल्गुन २०८२
  • 7K
    Shares

पोखरा, १३ फागुन २०८२।

बरिष्ठ गायक, संगितकार, उद्घोषक कमल बि.के.’निर्माेही’ को निधन भएको छ।

लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पिडित संचारकर्मि एबम राष्ट्रिय कलाकार कमल बि.के.’निर्माेही’ को नेपालगन्जस्थित भेरी अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो ।

मृगौला रोगबाट पीडित उनी शनिबार एक्कासि बेहोस भएपछी भेरी अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई सोमबारदेखि भेण्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। उनी नेपालगंज १० अैाधाेगिक क्षेत्र निवासी थिए।

केटा ः त्यो माडी खोलाले छेकेको होइन
मलाई छेक्यो मायालु तिम्रै मायाले
केटीः जाउ माया परदेश फर्केर आउनलाई
रोई बसौँला मायालु तिम्रै मायाले

कमल विके निर्माेहीले संकलन र संगीत संयोजन गरेको र २०४४ सालमा गायिका कोमल ओली र माया ओलीका साथमा गाएको यो गीत कुनैबेला रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रबाट निकै बज्यो । दाङका लोक गायक डा. गोविन्द आचार्यले संकलन तथा संगीत संयोजन गरेको ‘राप्तीको झर्ना’ लोकगीत एल्बमका यो गीत संग्रहित छ । यो गीत अहिले एमएन एल्बम्स नामक युट्युब च्यानलमा सुन्न सकिन्छ ।
निर्माेहीले गाएको अर्काे गीत पनि कुनैबेला रेडियोमा बज्ने लोकप्रिय गीतमध्ये एक थियो । भरत लामाको शब्दमा कमल विके निर्माेही र माया गुरुङको आवाजमा रहेको त्यो गीतको बोल छ ः

केटा ः लाग्यो माया मोहनी नजरमा
बसौँ बसौँ बसौँ लाग्यो घोराही बजारमा
केटीः गुराँस फुल्यो, फुल्यो मेरो तनमा
पिरतीको मात लाग्यो आज यो मनमा

यस्ता स्थानीय माटो र भाकामा आवाज दिएका ६६ वर्षीय वरिष्ठ कलाकार कमल विके निर्माेहीको दुवै मृगौला फेल भए पछि रकमको अभावमा उपचार प्रभावित भएको थियो। उनको उपचारका लागि एक सहयोग समिति बनाएर अर्थ संकलन गरी उपचार पनि हुँदै आएको थियो।

सुमधुर आवाज निर्माेहीको पहिलो परिचय भएपनि उनी बहुप्रतिभाशाली कलाकार थिए । उनको गायक र रेडियो तथा स्टेज प्रस्तोताको व्यक्तित्व धेरैमाझ परिचित रहेको थियो । निर्माेहीको रेडियो यात्रासँगै नेपालगन्जको रेडियो प्रशारणको इतिहास पनि जोडिएर आउँछ । मध्य तथा सुदुरपश्चिमको पहिलो व्यवसायिक रेडियो वागेश्वरी एफएमको स्थापनाको अगुवामध्येका एक हुन् निर्माेही ।

त्यसपछि उनले आफ्नै वेब मल्टिट्रयाक रेकर्डिङ स्टुडियो र वेब एड्भरटाइजिङ प्रालि सञ्चालन गरेर संगीत तथा विज्ञापनको उत्पादनको व्यावसायिक काम पनि गरेका थिए ।

अहिले उक्त व्यवसायको जिम्मेवारी उनका छोरा शैलेन्द्र गौतम निर्माेहीले सम्हालिरहेका छन् । निर्माेहीको कलाकारिता यात्रा भने रेडियो नेपालबाट शुरु भएको थियो । उनको बहुप्रतिभाकै कारण करिब २०४८ सालतिर रेडियो नेपालमा प्रवेश पाए । त्यहाँ उनले वाद्यवादन, गायन, समाचार वाचनसम्म गरे । पछि २०५० सालमा रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्र सञ्चालनमा ल्याउँदा उनलाई पनि उक्त केन्द्रमा खटाइयो ।

निर्मोहीको योगदानलाई कदर गर्दै २०७३–०७४ मा नेपाल सरकारले क्षेत्रीय प्रतिभा पुरस्कारसमेत प्रदान गरेको थियो भने दर्जनौँ संघसंस्थाले उनलाई सम्मान पनि गरेका छन् ।

प्रतिक्रिया