त्रिशुली बस दुर्घटना अपडेट : गृहमन्त्री अर्यालले लिए घाइतेको अवस्थाबारे जानकारी : मृतक सबैको भयो सनाखत

त्रिशुली बस दुर्घटना अपडेट : गृहमन्त्री अर्यालले लिए घाइतेको अवस्थाबारे जानकारी : मृतक सबैको भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ फाल्गुन २०८२
  • 7.8K
    Shares

पोखरा ११ फागुन २०८२।

गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइतेहरुलाई अस्पतालमै पुगेर भेटेका छन्।

गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए। उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनूनी दायरामा ल्याइने बताए।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ।

पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

यसैबीच दुर्घटनामा मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ।

प्रारम्भमा सनाखत भएका मृतकहरुको विवरणः-
१. स्टेवार्ट डोमिनिक एथान नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष अं. ४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया
७. जिल्ला काठमाडौँ म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहँ. भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल ९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ

थप सनाखत भएका मृतकहरुको विवरण:-
१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल
११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल
१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री
१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली
१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी
१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन
१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकि वर्ष २७ की हिरा चौधरी
१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली
१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतीय नागरिक) 
१९. झाङ चुनचु नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक) 

हमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा धादिङमा दुर्घटनामा परी घाईते भएका बिरामीहरुको नेपाल नेशनल हस्पिटल तथा ट्रमा सेन्टरमा अवस्था बारे जानकारी लिँदै ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

आज गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए ।

मन्त्रालयले दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

प्रतिक्रिया