पोखरा, २ फागुन २०८२।
रोल्पा । निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीमाथि तालिम प्रशिक्षक (‘गुरुबा’)हरूले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। गत सोमबार साँझ भएको उक्त घटनामा एकसय चार जना निर्वाचन प्रहरी घाइते भएका छन्। जसमध्ये १६ जनालाई रोल्पा अस्पताल रेउघामा भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए।
उनका अनुसार तीनजनाको एक्स–रे गरिएको थियो भने अधिकांशको ढाडमा नीलडाम देखिएको र एकजनाको पुट्ठामा चोट लागेको थियो। केही निर्वाचन प्रहरीका मोबाइलसमेत फुटेको जनाइएको छ।
घटना कसरी भयो?
सोमबार साँझ करिब ६ बजे लिबाङस्थित शहिद प्रतिष्ठान भवनमा खाना खाएर निर्वाचन प्रहरीहरू लाइनबद्ध रूपमा कभर्ड हलतर्फ फर्किँदै थिए। सोही क्रममा सरिकोट पोलिटेक्निक अगाडि साँघुरो सडकमा मोटरसाइकलमा आएका दुई प्रशिक्षक—प्रहरी जवान आरके खड्का र तिलक घर्तीमगरले केही निर्वाचन प्रहरी हाँसेको भन्दै सबैलाई पुनः शहिद प्रतिष्ठानमै फर्किन आदेश दिएका थिए। त्यहाँ पुगेपछि ‘हाँस्ने को–को हो?’ भन्दै प्रशिक्षक खड्काले कड्किएको र त्यसपछि लाइनमै लाठी प्रहार शुरु गरिएको आरोप छ।
अर्का जवान घर्तीमगरले पनि लाठी प्रहारमा साथ दिएको बताइएको छ। कुटपिटपछि ५२–५२ जनाको दुई समूहलाई टुँडिखेल नजिकको कभर्ड हलमा लगिएको थियो। हलभित्र पुगेपछि निर्वाचन प्रहरीहरूले घटनाको विरोध गर्ने निर्णय गरेका थिए। प्रहरी सहायक निरीक्षक चित्रबहादुर घर्तीमगरले उनीहरूलाई सम्झाइबुझाइ गरेको जनाइएको छ।
प्रशासनको प्रतिक्रिया
रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घटना भएको स्वीकार गर्दै अनुशासन कायम गराउने क्रममा ‘अलि कडाइ’ भएको बताएका छन्। उनले संलग्न प्रहरी जवानहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
यद्यपि, निर्वाचन प्रहरीहरूले कारबाहीको विषयमा स्पष्टता नभएको भन्दै शंका व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने आफूलाई घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।