अमेरिकी सहयोग कटौती हुँदा नेपालमा नि:शुल्क कन्डम वितरणमा प्रभाव पर्नेमा पोखराका स्वास्थ्य अधिकारीहरुको चिन्ता

अमेरिकी सहयोग कटौती हुँदा नेपालमा नि:शुल्क कन्डम वितरणमा प्रभाव पर्नेमा पोखराका स्वास्थ्य अधिकारीहरुको चिन्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 5.5K
    Shares

पोखरा, १ फागुन २०८२।

पोखराको स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरुले संयुक्त राज्य अमेरिकाले नेपाललाई स्वास्थ्य क्षेत्रमा दिंदै आएको अनुदान कटौती गरेको अवस्थामा जनसंख्या नियन्त्रण गर्न वितरण गरिदै आएको कन्डम वितरणमा प्रभाब पर्नेमा चिन्ता प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले बिहिबार पोखरामा आयोजित एक कार्यक्रममा पोखराको स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरुले त्यस्तो चिन्ता प्रकट गरेका हुन्।

प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले नेपाललाई अमेरिकाले स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको अनुदान कटौती गरेको अवस्थामा जनसंख्या वृद्धि दर घटाउन नेपाल सरकारले नि:शुल्क वितरण गर्दै आएको कन्डम ब्यबस्थापनका लागि सरकार स्वयम्ले खर्च बिनियोजन गर्नु पर्ने स्थिति रहेको संकेत गरे।

संयोजक बसौलाले गण्डकी प्रदेशमा यो आर्थिक वर्षको पुस मसान्तसम्म नौ लाख ५३ हजार कण्डम नि:शुल्क बाडिएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा २२ लाख ६४ हजार र त्यस अघिको आर्थिक वर्षमा २३ लाख ९७ हजार कण्डम वितरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले कण्डम अस्थायी साधन मात्र नभएर यौनरोग निरोधक साधन भएकाले यसको प्रचारप्रसारमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउण्डेसन, नेपालका कार्यक्रम तथा बजार संयोजक राधेश्याम श्रेष्ठले कन्डमलाई सरकारले गर्भ निरोधक साधनका रुपमा मात्र प्रबर्द्धन गरिरहेको जिकिर गर्दै यसले गर्भनिरोधको साथमा एचआईभी एड्स जस्ता घातक यौन रोग नियन्त्रणमा ठुलो भूमिका खेलेको यथार्थ प्रस्तुत गरे। कन्डमलाई एचआईभी एड्स जस्ता घातक यौन रोग नियन्त्रणमा प्रयोग गरिएको भनेर सरकारसंग प्रतिबेदन पेश गर्दा त्यसको खर्च अनुमोदन नहुने गरेको पीडा पोख्दै उनले आगामी दिनहरुमा सरकारले कन्डमलाई गर्भनिरोधको साथमा एचआईभी एड्स जस्ता घातक यौन रोग नियन्त्रण गर्न सक्ने गरी कार्य योजना बनाउन तर्फ सजग हुनुपर्ने आबश्यकता औंल्याए।

‘अन्तरराष्ट्रिय रुपमा फेब्रुअरी १३ का दिन प्रणय दिवसको अबसर पारी यसलाई विश्वब्यापी रुपमा कण्डमको सही तरिकाले प्रयोग गरि सुरक्षीत यौन सम्पर्क बारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले अन्तराष्ट्रिय कण्डम दिवस मनाउने गरिन्छ,’ उनले भने, ‘संसारभरि यौनरोग संक्रमण पुनः फैलिरहेको सन्दर्भमा, आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुन आउछ ।’

एएचएफ नेपाल, गण्डकीकी कार्यक्रम संयोजक विद्या कोइरालाले बिहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम गरी शुक्रबार कण्डम सम्बन्धी सन्देशमुलक गीत प्रतियोगिता आयोजना गरिएको बताइन् । १० टिमको सहभागिता रहने उक्त प्रतियोगितामा विजेतालाई नगदसहित पुरस्कृत गरिने संयोजक कोइरालाले जानकारी दिइन् ।

प्रतिक्रिया