पोल्यान्डमा मृत्यु भएका कास्कीका सुमन गुरुङको परिवारलाई कम्पनीले गर्‍यो आर्थिक सहयोग

पोल्यान्डमा मृत्यु भएका कास्कीका सुमन गुरुङको परिवारलाई कम्पनीले गर्‍यो आर्थिक सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 20K
    Shares

पोखरा, २० माघ २०८२।

युरोपेली मुलुक पोल्यान्डमा ह्रदयघात भएर मृत्यु भएका कास्कीका सुमन गुरुङको परिवारलाई सम्बन्धित कम्पनीले आर्थिक सहयोग गरेको छ।

सुमन काम गर्ने पोल्यान्डको प्लातेरुफको ओस्त्रोमेचिनको टीएमएस ग्रुपले सुमनकी श्रीमती सुनिता गुरुङको नाममा आर्थिक सहयोग पठाएको हो।

टीएमएस ग्रुपले वेस्टर्न युनियनमार्फत पठाएको चार लाख ८९ हजार सात सय ५५ रुपैयाँ १९ पैसा सुमनको परिवारले आज प्राप्त गरेको जनाएको छ।

मृतक सुमन गुरुङको श्रीमती सुनिता गुरुङले रकम प्राप्त गरेको जनाउँदै सहयोग गरेकोमा टीएमएस ग्रुप कम्पनीलाई धन्यवाद दिइन्।

कम्पनीमार्फत प्राप्त भएको यो रकम आफ्नो छोराको अध्ययनमा सदुपयोग गर्ने सुनिताले बताइन्। उनको सात वर्षका छोरा सिमोन गुरुङ स्थानीय ताराकुन्ज बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।

जर्मनीको नेपाली राजदूतावास तथा नेपाली अवैतनिक वाणिज्यदूतावास वारसाले सुमन काम गर्ने टीएमएस कम्पनीसँग परिवारलाई सहयोगका लागि विशेष पहल गरेका थिए ।

नेपालबाट रोजगारीको सिलसिलामा २०८१ भदौ १६ गते रोमानिया आएका सुमन २०२५ मे ११ देखि पोल्यान्डमा थिए। कास्कीको मादी-११ उपल्लो साप्ले घर भएका ३३ वर्षीय उनको ह्रदयघातबाट जनवरी १६ मा मृत्यु भएको थियो। उनको शव जनवरी २९ तारिख नेपाल पुगेर परिवारले दाहसंस्कार गरिसकेको छ।

प्रतिक्रिया