महोत्तरीका युवा बेलायतको राजधानी लन्डनमा तीन सातादेखि बेपत्ता : खोजीका लागि सहयोग अपिल

महोत्तरीका युवा बेलायतको राजधानी लन्डनमा तीन सातादेखि बेपत्ता : खोजीका लागि सहयोग अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 4.9K
    Shares

पोखरा , २४ पुष २०८२।

महोत्तरीका एक युवा बेलायतको राजधानी लन्डनमा तीन सातादेखि बेपत्ता रहेका छन्।

लन्डनस्थित विपीपी युनिभर्सिटीमा इन्जिनियरिङ म्यानेजमेन्ट एमएस्सीमा अध्ययनरत महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–११ पिगौना निवासी शंकर साह तीन सातादेखि बेपत्ता रहेका हुन्स।

गत डिसेम्बर १५ मा इष्ट लन्डनको फरेष्ट गेट क्षेत्रमा अन्तिम पटक देखिएका साह त्यसयता न त विश्वविद्यालयसँग सम्पर्कमा छन्, न त साथीभाइ वा परिवारसँग। उनी बेपत्ता भएको केही दिनपछि उनको राहदानी इष्ट ह्याम क्षेत्रको सडकमा फेला परेको जानकारी साथीहरूले दिएका छन्।

शुरुमा उनी इष्ट ह्याममै साथीसँग बस्दै आएका थिए। तर, बेपत्ता हुनुअघि उनी फरेष्ट गेटस्थित एक होटलमा सरेको खुलेको छ।

उनी बेलायत आएदेखि नै रोजगारी नपाएको विषयमा तनावमा थिए। लामो समयसम्म काम नपाएपछि उनी मानसिक रूपमा निराश देखिन थालेको र भविष्यप्रति चिन्तित रहने गरेको साथीहरूको भनाइ छ।

शंकर साह परिवारका एक्ला छोरा हुन्। सीमित आर्थिक अवस्थाका बाबजुद परिवारले ऋण काढेर बेलायत पढ्न आएका साहका बाबु हाल खाडी मुलुकमा रोजगारीमा गरिरहेका छन्।

छोरा बेपत्ता भएपछि नेपालमा रहेकी आमाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। कतै देखेमा वा कुनै जानकारी भए तुरुन्तै खबर गरिदिन बेलायतमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सर्वसाधारणलाई शंकर साहको परिवारले आग्रह गरेको छ।

यस विषयमा नेपाली दूतावास लन्डनले भने हालसम्म औपचारिक सूचना प्राप्त नभएको जनाएको छ।

प्रतिक्रिया