पोखरा, २० पुष २०८२।
अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अहिले न्यूयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ।
उनीहरूलाई अदालतमा उपस्थित गराइने तयारी भइरहेको एक अमेरिकी कानुन कार्यान्वयन अधिकारीले जनाएका छन्।
अमेरिकाले शनिबार अप्रत्यासित सैन्य कारबाहीमार्फत मदुरो दम्पतीलाई पक्राउ गरेको थियो। त्यसपछि अमेरिकी सरकारी विमानमार्फत उनीहरूलाई न्यूयोर्क शहरको उत्तरमा रहेको स्टुअर्ट इन्टरनेसनल एयरपोर्ट ल्याइएको थियो।
यसैबीच अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपति निकालेस मदुरो र उनकी श्रीमति सिलिया फ्लोरेस पक्राउको घटनाप्रति विश्वभरबाट प्रतिक्रिया आइरहेको छ ।
पछिल्लो घटनाप्रति बेलायतका प्रधानमन्त्री केयर स्टार्मर मदुरोको शासन अन्त्य भएको देखेर आफूले आँसु नबगाउने भनेका छन् । तर अमेरिकी सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानून तोडेको हुन सक्ने भन्दै यसमा संलग्न हुन उनले अस्वीकार गरेका छन् ।
उता, रुसको विदेश मन्त्रालयले अमेरिकालाई यस घटनाको विरोध गरेको छ । अमेरिकालाई आफ्नो अडानमाथि पुनर्विचार गर्न भन्दै मन्त्रालयले सार्वभौम देशको वैध तरिकाले निर्वाचित राष्ट्रपति र उनकी अर्धाङ्गिनीलाई रिहा गर्न भनेको छ । भेनेजुएला र अमेरिका बीच वार्ता हुनु आवश्यक रहेको पनि मन्त्रालयको भनाइ छ । चीनले पनि अमेरिकाको यस कदमलाई तानाशाही भनेको छ ।
अमेरिकाको बल प्रयोगबाट चीन गहिरो रूपमा स्तब्ध भएको भन्दै यस घटनाको कडा निन्दा गरेको चीनको विदेश मन्त्रालयले बताएको छ । साथै मन्त्रालयले अमेरिकालाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न अनुरोध पनि गरेको छ । भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँ राष्ट्रपतिलाई पक्राउ गरेर अमेरिका लैजाने ट्रम्प प्रशासनको पछिल्लो कदमको संयुक्त राष्ट्रसंघ (यूएन)ले पनि आलोचना गरेको छ । यस घटनाप्रति आफू निकै चिन्तित रहेको र यसले डरलाग्दो नजिर बसालेको चेतावनी एन्टोनियो गुट्रेसले दिएका छन् ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्क सहित अर्जेन्टिना र इक्वेडरले ट्रम्पको कदमलाई समर्थन गरेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेनीले ‘स्वतन्त्रताको जिन्दाबाद’ भनेका छन् । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले पनि नार्काेचाभिस्टा अपराधीहरूको साम्राज्य ध्वस्त हुन लागेको भन्ने प्रतिक्रिया दिएका छन् । ‘बधाई छ, राष्ट्रपति ट्रम्प । यो सम्पूर्ण विश्वको लागि जीत हो । विशेष गरी तानाशाहहरूलाई यो स्पष्ट सन्देश हो,’ मस्कले एक्समा एउटा पोष्टमा भनेका छन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्पको कदमप्रति मिश्रित प्रतिक्रिया दिएकी छिन् । ‘भेनेजुएलामा के भइरहेको छ भनेर मैले नजिकबाट नियालेको छुँ’ इन्स्टाग्राममा पोस्ट सेयर गर्दै उनले लेखेकी छिन् । ब्राजिलका राष्ट्रपति लुइजिनासियो लुला दा सिल्भाले अमेरिकी कदमको निन्दा गर्दै यो भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको बताएका छन् । युरोपेली संघले पनि अमेरिका र भेनेजुएलालाई संयम अपनाउन अपील गरेको छ ।
उत्तर कोरियाले आइतबार बिहानै दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापाको रक्षा मन्त्रालयका अनुसार मिसाइलहरूले करिब ९०० र ९५० किलोमिटरको दूरी तय गरेका थिए र जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका थिए। यस घटनाबाट कुनै पनि जहाज वा विमानमा क्षति पुगेको खबर आएको छैन।
जापानी रक्षा मन्त्री सिन्जिरो कोइजुमीले यस कार्यको कडा विरोध गर्दै उत्तर कोरियाले क्षेत्रीय शान्ति र सुरक्षामा चुनौती थपेको बताएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीले तत्कालै अधिकारीहरूलाई आवश्यक सूचना सङ्कलन गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएकी छिन्। दक्षिण कोरियाली सेनाले पनि यस प्रक्षेपणको पुष्टि गर्दै अमेरिका र जापानसँग मिलेर थप अनुसन्धान गरिरहेको छ।
करिब दुई महिनाको अन्तरालपछि उत्तर कोरियाले गरेको यो पहिलो मिसाइल परीक्षण हो। यसले कोरियाली प्रायद्वीप र वरपरको क्षेत्रमा फेरि तनाव बढाएको छ।