पोखरा , १५ पुष २०८२।
युक्रेनले नोभगोरोडस्थित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को रातमा ९१ ड्रोन आक्रमण गरेको हो, जसलाई रुसको वायु रक्षा प्रणालीले विफल पारेको थियो । लाभरोभले आक्रमणको बदला लिने चेतावनी दिँदै आक्रमणलाई आतंकवादको रूपमा वर्णन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोपहरूलाई पूर्ण रूपमा झूटा र बनावटी बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्ने बहाना खोजिरहेको दाबी गरे ।
यद्यपि, आक्रमणको समयमा पुटिन आफ्नो नोभगोरोड निवासमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन। आक्रमणको कुनै भिडियो रूसले अहिलेसम्म जारी गरेको छैन।
रुसी विदेशमन्त्री लाभरोभले पुटिनको आधिकारिक निवासमा भएको आक्रमणपछि, रूसले युक्रेनविरुद्ध बदलाको लागि समय र लक्ष्य तय गरेको बताए ।
आइतबार फ्लोरिडामा युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न जेलेन्स्की र ट्रम्पले तीन घण्टाको बैठकपछि आक्रमणको खबर आएको हो ।