पोखरा , ११ पुष २०८२।
कास्की जिल्लामा युवा व्यवसायीको पहिचान बनाएका बिमल बसेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
नेपाली कांग्रेसको कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका बसेलले आज सामाजिक संजालमा एक स्टाटस राखेर पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
लामो समय नेपाल विद्यार्थी संघ र तरुण दलमा क्रियाशील रहेका बसेल विसं २०७८ मा भएको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
महामानव बिपी कोइराला, लौह पुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेको बताउने उनले पछिल्लो समय पार्टीको बाटो फेरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘वर्तमान राजनीतिक घटनाक्रम, मौलाउँदो कुशासन, भ्रष्टाचार र बेथिति देख्दा देश दलदलमा फसेको महसुस भएको छ’, उनले भनेका छन्, ‘यो देश र जनताप्रतिको गम्भीर लापरवाही र विश्वासघात हो।’
घरजग्गा व्यवसायी समेत रहेका बसेल कास्कीमा कांग्रेसका केन्द्रीय नेताहरूलाई सत्कार र आर्थिक सहयोग गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाबमा प्रबल उम्मेदवारका दाबेदार ठानिएका थिए।