पोखरा १९ मङसीर २०८२।
पोखराका चर्चित करांते गुरु रुपक नेपाली जेल चलान भएका छन्।
जेन जी आन्दोलनका क्रममा पोखराको लेकसाइडस्थित बरबिपल रिसोर्टमा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ परेका करांते प्रशिक्षक नेपाली कास्की जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी आज कास्की जिल्ला कारागार चलान भएका हुन्।
जिल्ला न्यायाधीश शंकरबहादुर राईको आजको इजलाशले उक्त रिसोर्ट तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका नेपालीलाई पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिएको थियो । पोखरा–१७ घारीपाटन बस्ने बडिबिल्डर २९ वर्षीय रुपकको उक्त घटनामा संलग्नता नरहेको पुष्टि हुने आधार नभएको भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन भएको प्राप्त समाचारमा जनाइएको छ। पक्राउ परेका रुपक अर्धनग्न शरीर देखाउँदै होटल जलाउन पुगेको फोटो, भिडियोसहितको प्रमाण प्रहरीले फेला पारेर सरकारी वकिल मार्फत जिल्ला अदालतमा पेश गरेको थियो।
सोही इजलाशले अन्य छ जनालाई भने धरौटीमा छाड्न दिएको छ। अदालतले कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थापालाई जनही तीन लाख रुपैयाँ तथा महेन्द्र नेपाली र एलिशा गुरुङलाई दुई लाख धरौटीमा छाड्ने आदेश गरेको छ
जेन जी आन्दोलनका क्रममा दोस्रो दिन भदौ २४ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै पोखराको वरपिपल रिसोर्टमा आगजनी तथा तोडफोड भएको थियो।
प्रहरीले जाहेरीका आधारमा सात जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको थियो ।
वरपिपल रिसोर्टमा ३ वटा पर्यटक गाडी, ३ वटा गेस्ट कार, रिसोर्टको बार, स्पा, लबी, गेस्ट रूपमा आगजनी तथा तोडफोड भएको थियो । आगजनी तथा तोडफोडपछि लुटपाटसमेत भएको सञ्चालक अमरजंग गुरुङ (जितु)ले बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा यसअघि कास्की जिल्लाबाट पक्राउ परेका १४ जना पुर्पक्षमा रहने गरी जेल चलान भैसहेका छन्।
पोखरामा २७ प्रहरी चौकी, २७ निजी घर तथा व्यवसाय र १ सय १६ वटा सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए ।