पोखरा १५ मङ्सिर २०८२।
म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट आज बिहान करीब २ः३० बजेको समयमा सिमेन्ट बोकेको एउटा ट्रक म्याग्दी नदीमा खसेको छ।
सिमेन्ट बोकेर भैरहवा देखि दरवाङ जादै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट करीब ६० मिटर तल म्याग्दी नदीमा खसेको हो।
सिमेन्ट बोकेको ट्रक म्याग्दी नदीमा खसेको खबर पाउनासाथ् सिंगा तातोपानी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चालाई उद्धार गरेर नदीबाट बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ।
उद्धार गरिएका चालक खाम्चाको निधारमा चोट र शरिरको विभिन्न भाग ददारिएको चोट रहेको र उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सीनाले जानकारी दिए।
अहिले नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भैरहेको छ ।
प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।