काठमाडौँ, ८ मङ्सिर २०८२।
विराटनगरमा आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र रातो मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।
विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरूले रातो मसी प्रहार गरेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा विराटनगर-१ का २५ वर्षीय संजोग गौतम र विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर थिए । उनीहरू दुवै जना नेपाली कांग्रेस निकट रहेको भएपनि जेनजी आन्दोलनयता सोही अभियानमा सक्रिय थिए ।
काठमाडौंबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा सङ्घको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर-संवाद कार्यक्रममा सहभागी हुन आउँदै थिए । उनीहरू विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाहरूले मसी भरिएको बेलुन प्रहार गरेका थिए । बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।