काठमाडौँ, ८ मङ्सिर २०८२।
चर्चित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका ज्ञानबहादुर बम्जन केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन्।
उक्त सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा पुर्पक्षमा रहने गरी थुनामा राख्न जिल्ला अदालत काठमाण्डौले दिएको आदेश बमोजिम बमजन केन्द्रीय कारागार, सुन्धारा चलान भएका हुन्। बम्जन स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य आरोपित जिबी राईका नातेदार (जेठान) हुन्।
जेन–जी आन्दोलनका क्रममा उनी प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट नाटकीय रूपमा फरार भएका थिए। पुनः पक्राउपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो, जहाँ अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न निर्देशन दिएको हो।
काठमाडौँ प्रहरीले दिएको जानकारीअनुसार जिल्ला अदालत, काठमाडौँले बम्जनविरुद्ध दर्ता भएको सहकारी ठगी मुद्दामा प्रारम्भिक बयान एवं प्रमाणका आधारमा थुनामा पठाउने आदेश जारी गरेको हो ।
यसअघि समेत बम्जन पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका थिए। त्यतिबेला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।