मोबाइल चोरी गरेको भन्दै सप्तरीमा युवाको कुटेर हत्या

मोबाइल चोरी गरेको भन्दै सप्तरीमा युवाको कुटेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८२
  • 2.3K
    Shares

काठमाडौँ ७ मङ्सिर २०८२।

सप्तरीमा मोबाइल चोरी गरेको भन्दै एक युवाको कुटेर हत्या गरिएको छ।

मोबाइल चोरीको आरोपमा सप्तरीको राजगढ गाउँपालिका–६ फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटेर हत्या गरिएको हो।

प्रहरीका अनुसार, दुई दिनअगाडि विष्णुपुर गाउँपालिका–४ बोरियाकी ३५ वर्षीया सरो कुमारी साहको मोबाइल हराएको थियो । उक्त मोबाइल छिमेकी मुकेशले नै चोरी गरेको भन्दै साहले बुधबार यादवलाई लठ्ठीले कुटेर घाइते बनाएकी थिइन् । कुटपिटबाट यादवको घाँटी तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएकोमा त्यहाँ प्रारम्भिक उपचारपछि छिन्नमस्ता अस्पताल, राजविराजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। शुक्रबार साँझ उपचारको क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक यादव र साह दुवै हाल राजविराज नगरपालिका–१६ बोरिया लवटोलीमा बस्दै आएका थिए। घटना पछि कुटपिटमा संलग्न सरो कुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरीले बताए।

प्रतिक्रिया