जापानी प्रहरीको हिरासतमा मारिएका नेपालीको परिवारलाई साढे तीन करोड क्षतिपूर्ति दिन अदालतको आदेश

जापानी प्रहरीको हिरासतमा मारिएका नेपालीको परिवारलाई साढे तीन करोड क्षतिपूर्ति दिन अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८२
  • 4.1K
    Shares

पोखरा ६ मङ्सिर २०८२ ।

जापानको उच्च अदालतले प्रहरी हिरासतमा ज्यान गुमाएका नेपाली नागरिक अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश आइजावा माकीको इजलाशले टोकियो महानगरलाई करिब तीन करोड ९० लाख येन क्षतिपूर्तिस्वरूप पिडित परिवारलाई तिर्नुपर्ने फैसला गरेको हो।

सन् २०१७ मा एक क्रेडिट कार्डसम्बन्धी आरोपमा पक्राउ परेका सिंहलाई प्रहरी कक्षमा कसिलो रूपमा बाँधिएको र धेरै कसिलो गरी बाँधेको कारण उनको मृत्यु भएको पुष्टि गर्दै उच्च अदालतले पिडित परिवारलाई टोकियो महानगरलाई करिब तीन करोड ९० लाख येन क्षतिपूर्तिस्वरूप तिर्नुपर्ने फैसला गरेको हो।

यसअघि टोकियो जिल्ला अदालतले नेपाली नागरिक भएकै कारण क्षतिपूर्तिको रकमलाई जम्मा १० लाख येनमा सीमित गरेको थियो, जुन राष्ट्रिय क्षतिपूर्ति कानूनको ‘पारस्परिक ग्यारेन्टी सिद्धान्त’ मा आधारित भनिएको थियो ।

तर उच्च अदालतले यो निर्णयलाई ‘भेदभावपूर्ण’ भन्दै खारेज गरेको र विदेशी नागरिकहरूलाई पनि जापानी नागरिकसरह नै पूर्ण कानूनी अधिकार र क्षतिपूर्ति लागू हुने ठहर गरेको आशाही सिन्बुनको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख छ ।

अर्काको क्रेडिट कार्ड राखेको आरोपमा अर्जुनबहादुरलाई सन् २०१७ मा टोकियो प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

यस क्रममा प्रहरीले भनेको नमानेको भन्दै उनलाई नायलन बेल्टको हतकडीले हात र खुट्टा बाँधेर झन्डै २ घण्टासम्म राखिएको थियो। यसपछि बेहोस भएका उनलाई मृत घोषणा गरिएको थियो।

सन् २०२३ मा टोकियो जिल्ला अदालतले सिंहको मृत्यु त्यही यातनाका कारण भएको ठहर गरेको थियो। तर क्षतिपूर्तिसम्बन्धी तल्लो अदालतको फैसला उच्च अदालतले यही नोभेम्बर १९ मा अमान्य ठहर गर्दै रकम बढाएको हो।

प्रतिक्रिया