पोखरा ५ मङ्सिर २०८२ ।
दोलखा मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय छाला रोग विशेषज्ञ डा. अरुण कार्कीको मकालु बेस क्याम्प भ्रमणका दौरान लेक लागेर निधन भएको छ।
मंसिर १ गते मकालु बेस क्याम्प पुगेका कार्कीको उच्च हिमाली क्षेत्रमा अचानक स्वास्थ्यमा समस्या देखा परेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
मकालु बेस क्याम्प नजिकै असहज महसुस भएपछि तत्काल सहयोग नपाउँदा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।
प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत मृतकको शव उद्धार गरी संखुवासभाबाट काठमाडौं पठाएको हो।
स्थानीयका अनुसार दिवंगत कार्की जनस्वास्थ्य दोलखाका पूर्व प्रमुख कुमार विक्रम कार्की र मैयाँ कार्कीका छोरा हुन्। उहाँ छाला रोग विशेषज्ञ समेत रहेका जनाइएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।