काठमाडौँ, ३० कात्तिक २९८२।
मकवानपुरमा गएराती भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-१, बुङदलमा मोटरसाइकल दुर्घटनामा परेर आज बिहान मृत भेटिएका दुई जनाको परिचय खुलेको हो।
उक्त दुर्घटनामा मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ र स्थायी ठेगाना पूर्वी नवलपरासी, कावासोती–१३ भई हाल हेटौँडा–१, चौकीटोल बस्दै आएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।
दुवै जनाको सनाखत उनीहरूका श्रीमतीहरूले गरेको मकवानपुर प्रहरीले जनाएको छ।
आज बिहान करिब ७ बजे बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेको मोटरसाइकल दुर्घटनामा दुई पुरुषको घटनास्थलमै मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनाबारे स्थानीयले सूचना दिएपछि प्रहरी चौकी चौकीटोलबाट प्रहरी नायब निरीक्षकको कमान्डमा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ट्राफिक प्रहरीसहित थप टोली खटिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना राति नै भएको हुन सक्ने र मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनुमान गरिएको छ।
पोस्टमार्टमका लागि दुइटै शव हेटौँडा अस्पताल पठाइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।