पोखरा २६ कार्तिक २०८२।
प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका अभियन्ता डा. निकोलस भुषाल धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार तोकेको ५० हजार रुपियाँ धरौटी तिरेर डा। भुषाल रिहा भएका हुन्।
गोर्खाको सरस्वती आश्रमबाट गएको कातिक १८ गते पक्राउ परेका भुषाललाई सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउन आदेश जारी गरेको थियो।
भुसालले कात्तिक १३ गते संवाद डवलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।
सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो।
निजको साथबाट कुनै विस्फोटक पदार्थ वा हातहतियार आदि बरामद भएको वा निज कुनै कसुर गरिरहेको अवस्थामा पक्राउ परेको नदेखिएको अदालतले भनेको थियो। भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो।
यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो। तर परिवारले सुधार केन्द्र लगेका थिएनन्। प्रहरी हिरासतबाट छुटेपछि उनले अराजक अभिव्यक्ति दिएका थिए।