पोखरा २५ कार्तिक २०८२।
दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।
दक्षिण कोरियामाको ओन्जुमा सडकमा हिँडिरहेको अवस्थामा ट्रकले ठक्कर दिँदा झापा घर भएकी २२ वर्षीया नेपाली बिद्यार्थी मनिषा दाहालको मृत्यु भएको हो ।
सोलस्थित नेपाली दूतावासका अनुसार, दाहाल एक वर्ष अगाडि फार इस्ट युनिर्भसिटीमा अध्ययन गर्न पुगेकी थिइन्। उनको शवलाई नेपाल पठाउन प्रक्रिया अगाडि बढाइसकिएको छ।
गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले चालकबाट गल्ती भएको स्वीकार गरिसकेको बताइन्। ‘हामीले आवश्यक कानुनी तथा अन्य सहयोगको लागि घटनास्थलमा पुगेर सम्बन्धित निकायसँग छलफल गरेका छौं,’ अध्यक्ष मोक्तानले भनिन,‘दोषीमाथि कानुनी कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन हाम्रो पहल हुन्छ।’
नेपाली विद्यार्थी समाज (सोनसिक)ले उज्जवल भविष्यको सपना बोकेर उच्च शिक्षा अध्ययन गर्ने क्रममा दाहालको मृत्युको खबरले अत्यन्त मर्माहत तुल्याएको भन्दै परिवारप्रति गहिरो समावेदना प्रकट गरेको छ।