पोखरा, २३ कात्तिक २०८२।
हिमाल पारीको जिल्ला मनाङमा करीब तीन हप्तादेखि हराइरहेका भारतीय बाबु-छोरी मृत भेटिएका छन्।
गएको कार्तिक ३ गते मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका भारतीय बाबु-छोरी आज मृत भेटिएका हुन्।
५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल आइतबार दिउँसो करिब २ बजे उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा मृत भेटिएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।
सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुन: २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको थियो ।