पोखरा, १७ कार्तिक २०८२ ।
पोखरास्थित वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुले नेपाली मात्रको महान चाड मध्येको एक तिहारको अवसरमा खेलेको देउसी – भैलोबाट संकलित रकमबाट एउटा मोटरसाइकल किनेका छन्।
भदौ २४ को जेनजी आन्दोलनका क्रममा कार्यालयलाई प्राप्त मोटरसाइकल जलेर ध्वस्त भए पछि ड्युटीमा बाधाको महशुश गरेर बैदाम प्रहरीका कर्मचारीहरुले गएको तिहारमा देउसी – भैलो खेलेर जम्मा भएको रकमबाट एउटा मोटरसाइकल किनेका हुन्।
लक्ष्मी पूजाका दिन, २०८२ कार्तिक ३ गते वडा प्रहरी कार्यालय बैदामको आयोजनामा भएको देउसी-भैलो कार्यक्रमबाट संकलित रकममा कार्यालयले केही थप गरी मोटरसाइकल खरिद गरिएको हो।
देउसी-भैलोबाट दुई लाख २१ हजार पांचसय १४ रुपैयाँ संकलन भएको थियो। यसमा कार्यालयबाट केही रकम थप गरी जम्मा दुइलाख २४ हजार नौसय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको छ।
वडा प्रहरी कार्यालय बैदाम परिसरमा आयोजित उक्त देउसी-भैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, वडा अध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू र पत्रकारहरूको समेत उपस्थिति थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले आज आयोजित एक समारोहका बीच उक्त नव-खरिद मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे।