काठमाडौँ ८ कार्तिक २०८२ ।
लोक तथा दोहोरी गायक केयरसिङ छन्त्यालको दक्षिण कोरियामा भएको औद्योगिक दुर्घटनामा परेर निधन भएको छ।
बिगत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत छन्त्यालको दक्षिण कोरियामा भएको औद्योगिक दुर्घटनामा परेर निधन भएको हो ।
उनको नेपाल घर बागलुङ हो। गायन र वाद्यवादनमा रुची भएका छन्त्याल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाका सदस्य समेत रहेका थिए।
कम्पनीमा चिगेछा (फोर्कलिफ्ट) चलाउने क्रममा च्यापिएर केहर सिङ छन्त्यालको घटनास्थलमै मृत्यु भएको त्यहाँ कार्यरत मजदुरहरुले जानकारी दिएका छन् ।
छन्त्याल कोरियामा आयोजना हुने धेरै सांगितिक सांस्कृतिक कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउने गरेका थिए । उनको आफ्नै भाइ पनि कोरियामै कार्यरत छन् ।
यसैबीच राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले सामाजिक संजालमा एक स्टाटस राखेर मृतक छन्त्यालप्रति श्रद्धाञ्जली प्रकट गरेकी छिन।
उनले आफ्नो स्टाटसमा छन्त्यालको निधन भएको खबरले स्तब्ध एवम् मर्माहत भएको जनाउ दिंदै छन्त्यालको देहावसानले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललाई अपूरणीय क्षती भएको जिकिर गरेकी छिन ।
उनले “सिंगो प्रतिष्ठान शोकमा डुबे” भन्दै शोकको यस घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’ भनेकी छिन।