पोखरा ८ कार्तिक २०८२ ।
मलेशियामा आमाछोरीको निर्ममतापूर्बक हत्या गरेको आरोपमा दुई दाजुभाइसहित तीन जना नेपाली पक्राउ परेका छन्।
मलेशियाको पेनाङस्थित जुरु गाउँमा स्थानीय आमा–छोरीको निर्ममतापूर्वक हत्या गरेको आरोपमा दुई दाजुभाइसहित तीन जना नेपाली पक्राउ परेका हुन्।
पेनाङस्थित जुरु गाउँकी ५१ वर्षीया सारिया चे हिन र उनकी १९ वर्षीया छोरी नुर अफ्रिना अलिशा अब्दुल रहिमलाई भाडाको घरमा निर्मम तरिकाले हत्या गरेको आरोपमा तीन जना नेपालीलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका मुख्य अभियुक्त मानिएका तीन नेपाली मध्ये ३५ वर्षीय पुरुष, उनका ४० वर्षीय दाजु र २८ वर्षीय एक साथीलाई बुधबारदेखि अक्टोबर ३१ सम्म थुनामा राख्न बुकित मेर्ताजम अदालतकी मजिस्ट्रेट नुरुल रसिदाह मोहमद अकीतले अनुमति दिएकी प्राप्त समाचारमा जनाइएको छ। उनीहरुलाई सेलाङ्गोरस्थित इमिग्रेसन कार्यालयमा मलेसिया छाडेर भाग्नको लागि तयारी गरिरहेको बेला पक्राउ गरिएको त्यहाँस्थित प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका तीनैजना नेपालीमाथि मलेसियाको दण्ड संहिता को धारा ३०२ (हत्या) अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ।
आज बिहान करिब ९:४५ बजे हत्कडी लगाएर तिनीहरूलाई प्रहरी टोलीको साथमा बुकित मेर्ताजम मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो।
मृतक महिला सारियाको शव भुइँतलाको भान्सामा टाउको प्रायः अलग भएको अवस्थामा भेटिएको थियो भने उनकी छोरी माथिल्लो तलामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन्।
मृतकका श्रीमानले साँझ करिब ७:३० बजे घरमा पुग्दा दुबैको शव फेला पारेका थिए। घटनापछि प्रहरीले श्रीमानसहित स्थानीय तीन जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
यसअघि, पुलाउ पिनाङ प्रहरी प्रमुख दातुक अजिजी इस्माइल ले थप तीन जनालाई पनि पक्राउ गरिएको पुष्टि गरेका थिए।
news source : malayakhabar