पोखरा ११ असोज २०८२ ।
पोखरा-जोमसोम हवाई सेवा करीब ए महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।
प्रतिकूल मौसम र जेन जेड युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण देखाएर करीब एक महिना अघि पोखरा-जोमसोम हवाई सेवा स्थगित गरिएको थियो।
करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले जानकारी दिए ।
सो क्षेत्रमा निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान भर्दै आएका थिए।
पोखरा–जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुई वटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेशन इन्चार्ज थकालीले जानकारी दिए ।
“जेन जेड प्रदर्शन हुनुअघि पोखरा–जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुन सकेको थिएन । प्रदर्शनपछि भारतीय सिमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो”, उनले भने ।
हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेशन इन्चार्ज थकालीले जनाए । “प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ ।”
तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेशन इन्चार्ज सुजन लालचनले बताए । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रतिकूल मौसम र जेनजी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा-जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । जोमसोमस्थित होटेल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे ।