दोस्रो पर्वतीय दौड असोज ११ गते
पोखरा, २९ भदौ २०८२।
दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रबर्द्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त रुपमा आयोजित उक्त प्रतियोगिता अब विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ ।
जेन-जीको आन्दोलनसंगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए। यस अघि उक्त प्रतियोगिता असोज ४ गते हुने भनिएको थियो।
मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसायी, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ ।
असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ ।
पोखरा-२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको आठ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हालसम्म ७५ जना धावकले दौडमा भाग लिन अनलाइन र्फम भरेका छन् ।
आयोजकले दुईसय ५० जनासम्म धावकलाई व्यवस्थापन गर्ने भएको र फस्ट कम फस्ट सर्भिसका आधारमा २५० संख्या नपुग्दासम्म पुनः फर्म खोलिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेˆटिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् ।
प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाा खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।