पोखरा १६ साउन २०८२।
गएराती काठमाण्डौको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङसहित ४७ जना भन्दा बढी गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा बिहीबार रातभर ठमेल र महाराजगन्ज क्षेत्रमा अवाञ्छित गतिविधि गर्नेहरू बिरुद्ध चलाइएको व्यापक धरपकडमा गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङसहित ४७ जना भन्दा बढी गुण्डाहरु पक्राउ परेका हुन्।
गुन्डा नाइके चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले साउन १५ गते बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध काठमाडौँ प्रहरीले अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
चक्रे मिलन यसअघि २०७४ वैशाख २६ गते पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन् ।
२०७९ सालको चुनावमा नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको समेत गरेको थियो ।