पोखरा १२ साउन २०८२।
प्रहरीको कुटपिटबाट इटहरीका एक युवकको मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।
धरानस्थित तीनकुने प्रहरी चौकीमा गरिएको सवारी चेकिङ गर्ने क्रममा प्रहरीले कुटपिट गरेको भनिएका इटहरी उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय युवराज निरौलाको उपचारका क्रममा मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार , साउन ९ गते साँझ ८ बजे निरौला र उनको साथी बेलका ३ उदयपुरका २२ वर्षीय दीपक कटुवाल धरान जाने क्रममा चेकजाँचमा परेका थिए । लागु औषध सेवन गरेका दुवै जनालाई प्रहरीले रोकेको थियो ।
सोधपुछको क्रममा प्रहरीसँगको विवादमा निरौलामाथि केही प्रहरीले हात र बुटले छातीसँगै टाउकोमा प्रहार गरेको मृतकका भाइ सन्तोष निरौलाको आरोप छ । शुक्रवार राती ८ बजे प्रहरीले घरमा फोन गरेर युवराज पक्राउ गरेको जानकारी दिंएकोमा फेरी तीन घण्टा पछि फोन गरेर युवराज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन भनिएको भाई सन्तोष निरौललाले बताए। प्रहरीले गरेको खबर अनुसार , अस्पतालको इमरजेन्सी विभागमा पुग्दा टाउकोबाट रगत बगेर अचेत अवस्थामा आफूले देखेको उनले जानकारी दिए। सन्तोषले थपे ‘बिपीले विराट नर्सिङ होम रेफर गर्यो । विराटमा टाउकोको सामान्य शल्यक्रिया पश्चात् भेन्टिलेटरमा भर्ना गरियो । पछि दोस्रो शल्यक्रिया र उपचार गर्न त्यहाँ खर्च अभाव भएपछि विराट टिचिङ अस्पताल लग्यौ । सिटिस्क्यान गरेर हेर्दा टाउकोको भागको धेरै ठाउँमा रगत जमेको र शल्यक्रिया गरेर पनि उपचार सम्भव नहुने चिकित्सकहरूले सुझाव दिनुभयो । अनि कोशी अस्पताल लग्यो र शनिवार बिहान दाइको मृत्यु भयो ।’
टाउकोमा भएको गहिरो चोट र रगत जमेको कारण दाइको मृत्यु भएको भनेर सबै अस्पतालका चिकित्सकहरूले भनेको सन्तोषले बताए ।
यस प्रहरीले भने हालसम्म आधिकारीक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।