‘गोरखा डान्स च्याम्पियन-२०८२’ का नाममा बालबालिकालाई प्रयोग गरेर रकम असुली: चार जना पक्राउ

‘गोरखा डान्स च्याम्पियन-२०८२’ का नाममा बालबालिकालाई प्रयोग गरेर रकम असुली: चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० साउन २०८२
  • 4.9K
    Shares

गोरखा डान्स च्याम्पिएन

पोखरा, ९ साउन २०८२।

‘गोरखा डान्स च्याम्पियन-२०८२’ का नाममा बालबालिकालाई प्रयोग गरेर रकम असुली गरेको आरोपमा गोरखाबाट चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ का २० वर्षीय आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ का २० वर्षीय शरदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले बुधबार आरुघाट गाउँपालिका–९ आरुघाट बजारमा एपी नाचघर तिलोत्तमा मणिग्राम रुपन्देहीद्वारा आयोजना गरेको भन्ने पारेर ‘गोरखा डान्स च्याम्पियन-२०८२’ संचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए ।

‘डान्स च्याम्पियनमा विभिन्न ठाउँका बालबालिकाहरुलाई नाचमा सहभागी बनाई छनौट गरिरहेको र सहभागीहरुलाई फाइनल जित्नका लागि प्रतिगोटा एक सय रुपैयाँ पर्ने भोटिङ कार्ड (गोरखा डान्स ग्रान्ड फिनाले च्याम्पेन लेखिएको) लिइ जसले भोटिङ कार्ड कटाउन सक्छ उ नै विजेता हुने, विजेता विभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउने, विभिन्न पुरस्कारहरुसमेत जित्ने भनि झुटो प्रलोभन देखाइएको रहेछ,’ उनले भने ।

प्रलोभनमा पारी विश्वास दिलाएर नाचमा सहभागी बालबालिकाहरुको अभिभावकमार्फत पनि रकम असुली गरेको भन्ने पीडितहरुबाट आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट नगद ८९ हजार सात सय ६० रुपैयाँ, पुरै काटेको टिकटको अर्धकट्टी प्याड ७ थान, केही प्रति काटेको टिकटको प्याड १४ थान, नकाटेको टिकटको प्याड १३ थानसमेत फेला पारिएको उनले बताए ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत गोरखामा ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । प्रतियोगिताबाट ठगिएका अन्यलाई पनि प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार