उता आमाबुबा भारतमा बेपत्ता भएका दुई छोरीहरु खोज्न मिडिया, प्रहरीदेखि सबैतिर हारगुहार गरिरहेका थिए। तिनै बाबुआमाले हारगुहार गर्दै खोजी गरिरहेका दुई किशोरी छोरीहरु १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेल नेपालको भक्तपुरस्थित बोडे सिन्टिटारमा अवस्थित एक घरमा आज बिहान मृत भेटिए। उनीहरु आज बिहान पौने ७ बजे डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
आमाबाबुको सम्पर्कमा नभए पनि उनीहरू काठमाडौँको कलङ्कीमा बस्ने आन्टीको सम्पर्कमा थिए । उनीहरुले आफूहरु झुन्डिनु अघि आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका विभिन्न चरणका फोटो र भिडिओ खिचेर टिकटकमा अपलोड गरेको पाइएको छ । भिडिओमा दुवैले एउटै डोरीमा पासो लगाएको देखिन्छ । भिडिओमा प्रयोग भएको गीत छ, ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’।
प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भिडिओ फेला पारेको हो । प्रहरीका अनुसार, घाँटीमा पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा नदेखिएको र सामान्य अवस्थामा फोटो खिचिएको छ । भिडिओ अपलोड गरेको केही बेरमै उनीहरू अफलाइन भएका थिए ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी दिदीबहिनीका बाबुआमा रोजगारीका लागि भारतमा छन् । प्रहरीले परिवारलाई खबर गरेपछि उनीहरूका बुबा नेपाल फर्किँदै छन् । मृतककी कान्छी आमाले प्रहरीलाई बताएअनुसार दुवै छोरी भारतबाट भागेर काठमाडौँ आएका थिए ।
कान्छी आमाका अनुसार, दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियामार्फत हराएको सूचना समेत जारी गरिएको थियो । तर, उनीहरू काठमाडौँ आएको र यहाँ बस्दै आएको कुरा मृत अवस्थामा फेला परेपछि मात्र थाहा भएको उनले बताइन । उनीहरूले आफ्नो ठेगाना र बसाइबारे परिवारलाई कुनै जानकारी दिएका थिएनन् ।