पोखरा, ८ साउन २०८२।
बाजुरामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
बाजुराको हिमाली गाउँपालिकाको क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयमा आउदै गरेको बा प्र ०३- ००१ ज ०३३८ नम्बरको जीप बिहीबार विहान साढे आठ बजे कवाडी-क्यडी सडकमा पर्ने टुनीगडामा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्र्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक देवबहादुर चौधरीले दिएका छन् । जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको सूचना अधिकारी देव चौधरीले बताएका छन् ।
क्युडी गाउँबाट सामाजिक सुरक्षाको भत्ताको नविकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
जीपमा २६ जना सवार मध्ये १२ जना सख्त घाइते भएका छन् । घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्स सहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताएका छन् । घटना भएको जानकारी पछि पालिकाले स्वास्थ्यकर्मी र एम्बुलेन्स घाइतेको उद्धारका लागि दुर्घटनास्थलमा पठाएको बताए ।
दुर्घटना भएको ठाउँमा प्रहरी चौकी कवाडीमा रहेको टोली घटनास्थलमा गइसकेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।