काठमाडौँ २५ असार २०८२।
वैदेशीक रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए) माल्टाले जनाएको छ।
एनआरएनएका अनुसार न्यौपानेको मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको हो। हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत रहेका थिए ।
उनको असामयिक निधनले सबैलाई स्तब्ध र मर्माहत बनाएको एनआरएनएले जनाएको छ। साथै,उनको पार्थिव शरीर नेपाल चाँडो भन्दा चाँडो पठाउनको लागि आर्थिक सहयोग संकलन गर्न गो गेट फण्ड अभियान सञ्चालन गरिएको जनाएको छ ।
माल्टा तथा गोजोमा रहेका विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायहरुलाई, एनआरएनए माल्टासँग समन्वय गरी आवश्यक सहयोग र सहकार्य गर्न पनि अनुरोध गरेको छ।