पोखरा,४ बैशाख २०८२।
तनहुँमा भ्यानले स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक किशोर घाइते भएका छन् ।
आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको भ्यानले विपरीत दिशाबाट आइरहेको ग १६ प १५७० नम्बरको स्कुटरलाई बुधबार दिउँसो आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा ठक्कर दिंदा स्कुटरचालकको मृत्यु भएको हो भने स्कुटरमा सवार अर्का एक किशोर घाइते भएका छन् ।
उक्त दुर्घटनामा परेर घाइते भएका स्कुटरचालक सोही गाउँपालिका–३ का १९ वर्षीय रुपेश गुरुङलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चालक रुपेशलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। सोही दुर्घटनामा घाइते भएका १९ वर्षीय रोहन मगर पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त दुर्घटनापश्चात अनुसन्धानका लागि भ्यान चालक चितवनको राप्ती नगरपालिका–२७ बस्ने २६ वर्षीय प्रवीण क्षेत्रीलाई भ्यानसहित इलाका प्रहरी कार्यालय आबुखैरेनीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।