पोखरा, २५ चैत २०८१।
हुम्लाका एक युवा झन्डै दुई हप्तादेखि भारतमा बेपत्ता रहेका छन्।
हुम्ला जिल्लाको सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट बेपत्ता भएका हुन्।
हुम्ला घर भई सुर्खेत लाटीकोइली घर बताउने चार जना अपरिचित युवासंग भारतको काँशीपुरमा संगै बसेर खाजा खाएका बुढालाई खानामा बेहोश हुने औषधी राखेर खुवाइएको र बेहोश बनाए पछि उनलाई तिनै अपरिचित युवाहरुले बेपत्ता बनाएको हुन सक्ने सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिए।
उनका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो। सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होशमा आएपछि नेपाल फर्केको बुढाले बताए।
तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए। उनीहरू घर फर्कने क्रममा लुटिएका हुन्। बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार भएकाहरूलाई आग्रह गरेका छन्। रासस