पोखरा,१८ चैत २०८१।
करीब एक हप्तादेखि बेपत्ता रहेका सर्लाहीका एक युवाको शब काठमान्डौको माकलबारीमा गाडेको अवस्थामा भेटिएको छ।
चैत ११ गतेदेखि बेपत्ता रहेका सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शब चैत १५ गते गोकर्णेश्वर–८, माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा भेटिएको हो।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका राहुल साहको हत्या गरेको आरोपमा प्रहरीले उनकै गाउँका पांच जना युवाहरुलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। अर्का एक जना भारतीय पनि साहको हत्या आरोपमा पक्राउ छन्।
चक्रघट्टा–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल र भारतको बिहारका २९ वर्षीय सुनील शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर–५ मा बस्दै आएका थिए । सुनील काठमाडौंको दक्षिणढोकामा बस्दै आएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
लेनदेनका विषयमा राहुलको हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद प्राप्त भएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।