पोखरा २८ फागुन २०८१।
पर्वतको कुर्घामा एक व्यक्तिको हत्या गरेर भागेका दुई जनालाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ।
पर्वत जिल्लाको तत्कालीन कुर्घा गाउँ पञ्चायत–०२ का रामबहादुर गुरुङलाई लाठी र चक्कु प्रहार गरी हत्या गरेर भागेका दुई जनालाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको हो।
आफ्नै गाउँका राम बहादुर गुरुङलाई हत्या गरेर भागेका ५७ वर्षीय गम्भीर गुरुङलाई रुपन्देहीको मायादेवी गाउँपालिका–०८ बसडिलवा क्षेत्रबाट र ५५ वर्षीय तेज बहादुर गुरुङलाई ललितपुरको महालक्ष्मी नगरपालिका–०८ लुभुबाट फागुन २५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ,
उनीहरुलाई उक्त कर्तब्य ज्यान मुद्दामा पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते दोषी ठहर गर्दै उनीहरूलाई १०/१० वर्ष कैद सजाय सुनाएको बताइएको छ। उनीहरुले योजनाबद्ध रूपमा रामबहादुर गुरुङलाई लाठी र चक्कु प्रहार गरी हत्या गरेपछि फरार रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई फैसल्का कार्यान्बयनका लागि पर्वत जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख डिएसपी रविन विष्टले जानकारी दिए ।