पोखरा २७ फागुन २०८१।
रोल्पाका एक एमाले नेताको रुसको पक्षबाट युक्रेनसंग लड्दै गर्दा मृत्यु भएको छ।
पूर्वी रोल्पाको नेकपा एमालेको नेता एबम रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाईँमा रुसको पक्षमा लड्दै गर्दा युक्रेनमा मृत्यु भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि उनी रसिया गएका थिए ।
पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए । रसिया र युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ ।
परिवारले फागुन २४ गतेमात्र उनको मृत्युको थाहा पाएका थिए । केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवार आत्तिएका थिए । उनको मृत्यु भएको यकिन मितिसमेत थाहा भएको छैन । उनले रसियाको सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्त बताउँछन् । ज्यान जोखिममा राखेर काम नगर्न र सेना छाडेर नेपाल फर्कन आफन्तले पनि आग्रह गर्दै आएका थिए । अन्ततः उनी आफै रुस – युक्रेन युद्धमा परेर मारिएका छन्।
सोमबार बेलुका आफन्त र इष्टमित्रमार्फत उनको मृत्युको खबर सामाजिक सञ्जालमा फैलिएको हो । वडाको पूर्वअध्यक्ष समेत भइसकेका र पूर्वी रोल्पाको नेकपा एमालेको नेतासमेत रहेका बुढाथोकीको रसियामा भएको मृत्युले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि र नागरिक समाज स्तब्ध बनेका छन् ।