पोखरामा जिपले स्कुटरलाई ठक्कर दिंदा आमाको निधन : छोरा गम्भीर घाइते

पोखरामा जिपले स्कुटरलाई ठक्कर दिंदा आमाको निधन : छोरा गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ फाल्गुन २०८१
  • 28.1K
    Shares

पोखरा, ८ फागुन २०८१।

पोखरामा आज जिपले स्कुटरलाई ठक्कर दिंदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले आज दिउसो करिब ११ः२५ बजे जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।

सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार