पोखरा, ८ फागुन २०८१।
ट्रकलाई ओभरटेक गर्न खोज्दा स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
वालिङ मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशामा रहेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा एक युवाको मृत्यु भएको हो।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ डुम्रस्कोट भन्ने स्थानमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार बिरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ बस्दै आएका १६ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।
उक्त दुर्घटनापश्चात ट्रक चालक पर्वतको कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकार लामिछाने र मोटरसाइकल चालक वालिङ–८ का १७ वर्षीय हेमन्त रानालाई आबश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।