पोखरा, ८ फागुन २०८१।
काभ्रेमा एकाबिहानै बस दुर्घटनाग्रस्त हुँदा बसधनीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
धादिङबाट जन्ती पुर्याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५:४० बजे काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा दुर्घटनाग्रस्त हुँदा बसधनीको घटनास्थलमै मृत्यु भएको हो भने दुई जना घाइते भएका छन्।
मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेर भएको उक्त बस दुर्घटनामा परेर बसका धनी तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ।
बस बिहेको लागि जन्ती पुर्याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए। घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।