पोखरामा महिला प्रहरीलाई अस्थायी प्रहरी पोस्टको जिम्मेवारी

पोखरामा महिला प्रहरीलाई अस्थायी प्रहरी पोस्टको जिम्मेवारी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ फाल्गुन २०८१
  • 7.3K
    Shares

अस्थायी प्रहरी पोस्ट , नदीपुर, पोखरा

पोखरा, ५ फागुन २०८१।

पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । प्रहरी सहायक निरीक्षक दीपा आलेको कमाण्डमा त्यस प्रहरी पोस्टमा नौ जना महिला प्रहरी कार्यरत रहनेछन।

उक्त प्रहरी बिटमा प्रहरी सहायक निरीक्षक दीपा आले कमाण्डमा प्रहरी सहायक निरीक्षक आलेसहित प्रहरी हवलदार संगीता महतो, प्रहरी जवान देवी पुर्जा, मनीषा बुढा, अमृता अठारे, गंगा सुनार, जानुका श्रेष्ठ, मञ्जु नेपाली र ममता सिंहसमेत नौ जनाले नागरिकलाई सुरक्षा दिने छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले प्रहरी सहायक निरीक्षक दीपा आलेलाई उक्त प्रहरी पोस्टको नेतृत्व हस्तान्तरण गरे। त्यस अवसरमा सिडिओ पाण्डेले महिला प्रहरी मात्रको युनिट स्थापनालाई लैंगिक समानताका दृष्टिले सकारात्मक पहल भएको बताए । उनले भने, ‘महिलामात्र कार्यरत् युनिटले कानून पालना गर्दै, अनुशासन र दक्षताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेर समाजमा शान्ति कायम गर्नेमा विश्वस्त छौं ।’

उनले शान्तिसुरक्षाको जिम्मेवारी केवल प्रहरीको मात्र नभई नागरिक समाजको पनि उत्तिकै भूमिका हुने जनाउँदै प्रहरी र जनताबीचको सहकार्य नै सुरक्षित समाज निर्माण हुने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले महिला प्रहरी मात्र खटाइएको युनिटलाई महिला सशक्तीकरणरूपमा लिँदै समाजमा शान्ति सुव्यवस्था कायम गर्न भूमिका खेल्ने बताए । उनले भने, ‘महिला तथा बालबालिकासम्बन्धी अपराधको संख्या बढिरहेको वर्तमान परिस्थितिमा महिला प्रहरी मात्रको युनिटले विशेष योगदान दिनेमा आशावादी छौं ।’ उनले महिला प्रहरीको दक्षता, क्षमता, र नेतृत्वदायी भूमिकालाई उजागर गर्दै भविष्यमा अन्य स्थानहरूमा पनि यस्ता युनिट विस्तार गर्ने योजना रहेको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ९ सय ६१ प्रहरी जनशक्तिमध्ये १ सय ३५ जना महिला प्रहरी कार्यरत् छन् ।

कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदास, निर्वतमान अध्यक्ष रवीन्द्रबहादुर प्रजु लगायतले महिला प्रहरीको कमाण्ड उदाहरणीय भएको जनाए । उनीहरुले सुरक्षाको क्षेत्रमा महिलाको सक्रिय सहभागिताले सकारात्मक सन्देश दिने बताए ।

कास्की प्रहरीअन्तर्गत ७७ युनिटमध्ये एउटा युनिटमा महिला प्रहरी परिचालन गरिएको हो । यसअघि, २०६७ सालमा प्रहरी नायव निरीक्षक गीता रानाभाटले छोरेपाटन प्रहरी चौकीको कमाण्ड सम्हालेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार