पोखरा,१ असोज २०८१।
७० लाख रुपियाँ खर्चिएर अबैध तरीकाले मेक्सिकोको बाटो हुँदै अमेरिका पुगेका रुकुमका एक युवाको अमेरिकामा हृदयघातका कारण निधन भएको छ।
अबैध बाटो हुँदै दुई वर्ष अघि मात्र अमेरिका पुगेका पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ बर्षीय भरत रोकामगरको सोमबार अमेरिकमा उपचारका क्रममा सोमबार दिउसो बोस्टनस्थित अस्पतालमा निधन भएको हो। रोकामगर हृदयघात भए पछि तीन दिन अघि अस्पताल भर्ना भएका थिए।
पारिवारिक श्रोत अनुशार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमति र छोराछोरी अमेरिका झिकाउने प्रकृयामा रहेका थिए । तर उक्त प्रकृया पूरा नहुँदै रोकामगरको बोस्टनमा मृत्यु भएको बताइएको छ ।
श्रीमति, २० बर्षकी छोरी र १५ बर्षका छोरा दाङको घोराहीमा बस्दै आएका छन् ।बुबा सिरधर रोका ६८ बर्षका छन् भने आमा सुकुमाया रोकापनि ६६ बर्ष भइसकेकी छिन् ।
रोकामगर हालैमात्र बोस्टनमा बसाईसरेर काम गर्न थालेको जनाइएको छ । उनका परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रकृया शुरु गर्न लागिएको र सहयोगका लागि गोफण्डमी सुरु गर्ने योजना बनाएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए ।
परिवारको आर्थिक स्थीति राम्रो नभएको र अमेरिका आएको दुई बर्ष पनि पूरा नभएकाले ऋण समेत तिर्न नभ्याएको अवस्थामा उनको मृत्यु भएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गर्न लागिएको हो ।