हास्य कलाकार सुलेमान शंकर (इकु) बिरुद्ध चार जनाले उजुरी दिएका छन्। दुई जनाले समान दुइ लाख ५० हजार रुपैयाँ ठगी गरेको दाबी गरेका छन् भने दुई मध्ये एकले चार लाख र अर्का एक जनाले नौ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।
अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु)ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो ।
मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीका अधिकारीहरु बताउँछन् । तीमध्ये कतिपयसँग पैसा लिएर पनि नपठाएको पाइएको र त्यस्ता व्यक्तिहरुले जाहेरी दिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीका अधिकारीहरुको भनाइ छ ।
इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ ।
इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनले कार्यक्रम नभएको ठाउँमा कार्यक्रम भएको छ भनेर पनि रकम लिएको पाइएको सीआईबीको भनाइ छ ।
ठगी मात्रै नभएर मानव बेचबिखन पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । गैरकलाकारलाई कलाकार बनाएर मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ ।
दुई जना गैरकलाकारलाई २८ लाख रुपैयाँ लिएर कलाकार भन्दै युरोप पठाएको खुलेको सीआईबी स्रोतले बतायो ।
दुबै जना युरोप पुगिसकेकाले जाहेरी पर्ने अवस्था छैन । मानव बेचबिखनको कसुरमा पीडित बिना मुद्दा चल्न सक्ने अवस्था नभएकाले मानव बेचबिखनको कसुर स्थापित गर्न सीआईबीलाई गाह्रो पर्ने देखिन्छ ।
इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको पाइएको एसपी बोगटीले बताए ।
उनले नक्कली भिसा र टिकटसमेत देखाउने गरेको पाइएको सीआईबीको भनाइ छ ।