पोखरा,१९ भदौ २०८१ ।
ललितपुरकी एक युवती संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित एक अस्पतालमा शिशुलाई जन्म दिएर बेपत्ता भएकी छिन् ।
ललितपुरकी २८ वर्षीया रेनुका पहारीले दुबईस्थित लतिफा हस्पिटलको इमार्जेंसी कक्षमा गएको अगस्त १६ मा छोरी जन्माएर अस्पतालमै छोडेर भागेको अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जानकारी दिएको छ ।
अगस्त १६ मा एम्बुलेन्समार्फत असपतालम पुगेकी रेनुकाले सोही दिन छोरी जन्माएकी र त्यसको तीन दिन पछि अस्पतालबाट भागेको प्राप्त समाचारमा जनाइएको छ। उनी अबुधाबीस्थित नेपाली राजदुताबासको सम्पर्कमा नरहेको बताइएको छ। नवजात छोरीलाई अस्पातलले हेरिरहेको नेपाली दूतावासले जनाएको छ ।
शिशु जन्माएर बेपत्ता भएकि रेनुका पहारी आफ्नो सम्पर्कमा समेत नरहे पछि स्थानीय प्रशासनको सहयोगमा रेनुकालाई पक्राउ गर्न वा थप कानूनी प्रक्रिया गर्न अस्पताल प्रशासनलाई नेपाली दूतावासलाई सुझाएको छ ।
यदि बच्चा जन्माएर बेवार्शे बनाई छाड्नु बाध्यता रहेको भए अबुधाबीस्थित नेपाली राजदुताबासको सम्पर्कमा आउन पनि राजदुताबासले अनुरोध गरेको छ। यदि बाध्यात्मक परिस्थितमा नवजात शिशु छाडेर हिड्नु परेको अवस्था भए सहजीकरण गरिदिन, आर्थिक वा अन्य केही समस्या भए अस्पतालसँग समन्वय गरी लागेको रकम मिनाहा गर्न पनि दूतावास तयार भएको भन्दै त्यसका लागि महिलालाई दूतावास वा अस्पतालको सम्पर्कमा आउन नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावास कानूनी रुपमा आफ्नो नागरिकको संरक्षण गर्न सदैव तयार रहेको, तर नागरिकले पनि कुनै समस्या भए अनिवार्य दूतावासलाई जानकारी गराउन सबैमा अनुरोध गरेको छ । पछि यस्तो प्रवृत्तिले आमालाई थप कानूनी समस्या आउने दूतावासको भनाइ छ ।